फागुन ११ गते सुनसरीको गढी गाउँपालिका ३ की चन्दनकुमारी साह नजिकैको मेडिकल हलमा पुगेकी थिइन्।
प्रहरीका अनुसार पेट दुखेपछि उनी बुवा हरिनारायण साहसँग गढी मेडिकल हलमा गएकी हुन्।
दिउँसो सवा २ बजेतिर गढी मेडिकलका अहेबले चन्दनकुमारी गर्भवती रहेको र ब्यथा लागेको भनेका थिए।
उपचार सुरू हुने क्रममै थियो। यतिकैमा चन्दनकुमारी ट्वाइलेट जान्छु भन्न थालिन्।
मेडिकलको ट्वाइलेटमा उनी पसिन्। करिब आधा घन्टा ट्वाइलेटबाट निस्किनन्।
प्रहरीका अनुसार उनले ट्वाइलेटभित्रै शिशु जन्माएकी थिइन्।
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी नायब निरीक्षक रमेश कार्कीका अनुसार ट्वाइलेट अगाडि फालिएको खरानी र माटोको थुप्रो खोस्रेर उनले शिशु गाड्दै थिइन्।
यत्तिकैमा स्थानीयले देखेर हल्ला गरे। शिशु निकालेर जिल्ला अस्पताल इनरुवा लगे। प्रहरीलाई खबर गरे।
इनरुवा अस्पताल पुर्याउँदा शिशुको अवस्था अत्यन्तै गम्भीर भइसकेको थियो। डाक्टरले त्यहाँ उपचार सम्भव हुन नसक्ने बताए।
अस्पपतालले ‘रिफर’ गरेपछि शिशुलाई विराटनगरस्थित टिचिङ अस्पताल लगियो। तर, त्यहाँ पुर्याएको केही समयमै शिशुको मृत्यु भयो।
प्रहरीले चन्दनकुमारीलाई त्यसअघि नै पक्राउ गरिसकेको थियो। धेरै नै रक्तश्राव भएपछि त्यही दिनबाट उनलाई विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो।
बिहीबार केही बिसेक भएपछि उनलाई प्रहरीले अनुसन्धानका लागि कार्यालय ल्याएको थियो। पुन पेट दुखेको भनेपछि उनलाई स्थानीय जीवन ज्योति मेडिकलमा उपचारका लागि पठाइएको छ।
‘हामीले घटनाको अनुसन्धान नै गर्न पाएका छैनौं,’ सई कार्कीले भने।
कार्कीका अनुसार सामान्य परिवारकी चन्दनकुमारी अविवाहित हुन्।
अविवाहित अवस्थामा गर्भ रहेर शिशु जन्मेपछि उनले हत्या गर्न खोजेको प्रहरीको प्रारम्भिक बुझाइ छ। यसबारे प्रहरीले उनीसँग बयान लिन पाएको छैन। उनी अस्वस्थ भएकाले बयान लिन नसकिएको कार्कीले बताए।
‘उनी निको भएपछि अनुसन्धान अघि बढ्छ,’ सई कार्कीले भने, ‘उनको पेटमा कसको गर्भ थियो, किन मार्न चाहिन् भन्नेबारे विस्तृत कुरा अनुसन्धानपछि खुल्नेछ।’
कार्कीका अनुसार घटना भएकै दिन प्रहरीले सोधीखोजी गरेको थियो। सामान्य सोधीखोजीका क्रममा बुवाछोरी रुन थाले।
‘अस्पतालमा उपचारको क्रममा सोध्न सम्भव भएन,’ कार्कीले भने। ती युवतीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिने कार्कीले बताए।
कर्तव्य ज्यानमुद्दामा कसुर हेरेर सर्वस्वसहित जन्मकैद सजाय हुने व्यवस्था छ।
यो समाचार सेतोपाटीबाट साभार गरिएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP