नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी दल नेपाली काङ्ग्रेस बलियो नहुँदा प्रधानमन्त्रीलाई अधिनायकवादको हिम्मत आएको बताएका छन् । सुनसरीको इटहरीमा प्रेस युनियनले सुनसरीले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले काङ्ग्रेस पार्टीका अध्यक्ष सेरबहादुर देउवाको पर्ख र हेर भन्ने प्रवृत्तिका कारण ओलीले आँट पाएर जथाभाबी बोल्दै हिँडेको बताए ।
हिजो विराटनगरको जनसभामा ओलीले संसद् पुरस्थापना भए सडकमा आन्दोलन गर्ने अभिव्यक्ति दिएको भन्दै नेता पौडेलले चर्को आलोचना गरेका थिए । उनले आफैँ सरकारमा बसेर सडकमा आन्दोलन गर्छु भन्नु लज्जाको विषय भएको बताए ।
संसद् विघटनको विषयमा पार्टी सभापतिलाई आफूले प्रस्ट रूपमा यो असंवैधानिक कदमको विरुद्धमा लागौँ भन्दा अदालतको निर्णय पर्खिने भन्दै टार्न थाल्नु भएको उनको भनाइ छ ।
प्रदेश सरकारमा आएको अविश्वास प्रस्तावको विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ भने तर सभापति बाट उत्तर नपाएको नेता पौडेलले बताए ।
काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले यसको प्रतिवाद गर्नुपर्ने भन्दै पैसाको अभावमा आन्दोलन नरोकिने बताए । पैसा हैन बिचारले आन्दोलन गर्ने भन्दै उनले पार्टी सभापतिले बेतुकको कुरा गरेको बताए ।
उनले सर्वोच्च अदालतले संविधानको पक्षमा फैसला गर्नेमा आफुँ विश्वस्त रहेको बताए । आफुँ सांसद नभएको स्मरण गराउँदै संसद् पुरस्थापना भए मलाई केही फाइदा हुदैंन तर संविधान र लोकतन्त्र बच्न सक्छ, भन्ने नेता पौडेलको भनाई थियो ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP