दिउँसै घरको ताला फुटाएर सुन र पैसा चोरी गर्ने एक युवालाई इलाका प्रहरी कार्यालय इटहरीले सार्वजनिक गरेको छ । उनलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
बिहीबार दिउँसो करिब १ बजे सुनसरीको इटहरी २ स्थित भद्र टोलमा साबित्रा भण्डारीको घरको तिन तला माथि पसेर घरमा भएको १२ तोला सुनका गरगहना, नगद रकम र चेक लिएर भाग्न खोज्दा उनलाई स्थानीयले इम्पेरियल होटेलको गेटबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका २ घर भएका २९ वर्षीय मनिस घिमिरे रहेका छन् । उनका साथबाट प्रहरीले १२ तोला सुनका गरगहना, सावित्रा भण्डारीको नाममा काटिएको रु १८ लाख ४५ हजारका विभिन्न बैङ्कका चेक, डिल्लीबहादुर भण्डारी नामको सानीमा बैङ्कको एटिएम कार्ड र नगद ६० हजार ४२४ रुपैंया बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिले नशालु पदार्थ सेवन गर्ने गरेको र सिरिन्जको समेत प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP