अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा भइरहेको अण्डर १३ उमेर समुहको खेलाडी छनौट अन्र्तगत सुनसरीबाट ३५ जना छानिएका छन् । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीले इटहरी ९ स्थित जनता स्कूलको मैदानमा बिहिबार र शुक्रबार गरेको छनौट कार्यक्रमबाट ३५ जना अण्डर १३ खेलाडीहरु छानिएका हुन् । एन्फा सुनसरी अध्यक्ष केशव कार्कीका अनुसार १ सय २५ जनाको समुहबाट ३५ जना छनौट गरिएको हो । जिल्ला छनौटका लागि सहभागी भएका १ सय २५ जना खेलाडी धरान, इटहरी, दुहबी, इनरुवा र बराहक्षेत्रबाट छनौट भएर आएकामध्येका हुन । जिल्लाबाट छनौट भएका ३५ जना खेलाडीले प्रदेश छनौटका लागि प्रतिष्पर्धा गर्न पाउने छन ।
छनौटमा सहभागीहरुको जन्मदर्ताका साथै खेल प्रदर्शन हेरेर मात्र खेलाडी छनौट गरिएको एन्फा सुनसरीका प्रशिक्षक श्याम मानन्धरले बताए । अण्डर १३ मा सहभागी हुनको लागि २०६५ असोज १५ देखि २०६६ असोज १५ गतेभित्र जन्मिएको हुनुपर्ने प्रावधान थियो । सहभागीहरुलाई समुह समुह बनाएर प्रतिस्पर्धा गराइएको मानन्धरले जानकारी दिए ।
एन्फाले २०७८ सालदेखी क्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्ने भएको छ । ए डिभिजन क्लबहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नको लागि ए.एफ.सि.लाइसेन्स लिनुपर्ने हुन्छ । लाइसेन्स प्राप्त गर्नको लागि एकेडेमी सञ्चालन गर्नुपर्ने मापदण्ड छ । त्यसैले एन्फाले क्षेत्र, जिल्ला, प्रदेश हुदै राष्ट्रिय छनौटबाट छानिएका उत्कृष्ट बाल खेलाडीहरु ती क्लबले सञ्चालन गर्ने एकेडेमीमा पठाउनका लागि खेलाडी छनौट थालिएको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले बताए । विभागीय टोली त्रिभुवन आर्मी, सशस्त्र र जनपथ प्रहरी र केही ए डिभिजन क्लबहरुले पनि एकेडेमी राख्ने तयारी गरेका छन । ती एकेडेमीमा यो छनौट कार्यक्रमबाट छानिएका उत्कृष्ट खेलाडीहरु रहने छन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP