सामाजिक विकास मन्त्रालय प्रदेश १, इटहरी उपमहानगरपालिका र करुणा फाउन्डेसनको आयोजनामा इटहरीमा गरिएको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रममा १ हजार ९० जनाले स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गरेका छन् । ९ दिन सम्म चलेको शिविरमा इटहरी भित्र रहेका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गर्ने, अवस्था हेरेर कार्ड वितरण गर्ने, बैसाखी वितरण गर्ने, तथा सेतो छडी वितरण गरिएको हो । उक्त अवधिमा नयाँ परिचय पत्र वितरण ४ सय १३, परिचयपत्र नवीकरण १८३, फिजियोथेरापी ३९८ र सहायक सामग्री पाउने ४५ रहेका छन् । उक्त अपाङ्गता भएका व्यक्तिहरूलाई इटहरी उपमहानगर सँग समन्वय गरेर उपचार गर्ने अवस्था रहेका व्यक्तिलाई उपचार गर्न अन्य अस्पताल पठाउने, अवस्था हेरेर कार्ड वितरण गर्ने करुणा फाउन्डेसनकी सदस्य भारती देवले बताइन् ।
इटहरीमा ३ वर्ष अघिको आँकडामा १८ सय जना अपाङ्गता भएका व्यक्ति रहेका थिए । तर यो पटक भने ४ सय भन्दा बढी थपिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताइन् । उनले इटहरी भित्र कस्ता कस्ता अपाङ्गता भएका व्यक्ति छन् । त्यसको पहिचान गर्न शिविरको आयोजना गरिएको जानकारी दिइन्। उनीहरूको पहिचान खुले लगत्तै स्वास्थ्य उपचार गर्न अस्पताल रेफर, सेतो छडी वितरण तथा सहयोग गर्ने उनको भनाई छ ।
शिविर आयोजना गरेपछि अपाङ्गता भएका व्यक्तिहरू खुसी भएका छन् । परिचय पत्र बनाउन घण्टौं सम्म वडा कार्यालय धाउनु भन्दा आफ्नै गाउँमा बनाउनु पर्दा अपाङ्गता भएका ब्यक्तिहरुूलाई सहज भएको महिला अपाङ्गता अधिकारकर्मी तृप्ता मगरले बताइन् । उनले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिलाई हेरचाह गरेकोमा केही राहत महसुस भएको बताइन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP