इटहरी । सडकको कारण दैनिक धुवा धुलोले व्यवसाय चौपट भएको, स्थानीयको स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको भन्दै स्थानीय तथा व्यवसायीहरूले एक घण्टा राजमार्ग अवरुद्ध गरेका छन् ।
निर्माण सुरु भएदेखि नै पटक पटक विवादमा परेको रानी – विराटनगर, इटहरी –धरान ६ लेन राजमार्ग समयमै सम्पन्न गराउन माग गर्दै व्यवसायीहरूले एक घण्टा राजमार्ग अवरुद्ध बनाएका हुन्
व्यवसायीहरूले इटहरीस्थित विराटनगर रोडमा अलकत्राको ड्रम लडाएर सडक अवरुद्ध बनाएका थिए । राष्ट्रिय राजमार्ग अवरुद्ध बन्दा केही समय सो क्षेत्रमा तनाव उत्पन्न भएको थियो । लामो तथा छोटो दुरीका यात्रुवाहक बस बिचमै रोकिएका थिए भने साना एवम् ठुला सवारीसाधनहरू पनि बिच सडकमै रोकिएका थिए ।
सडकलाई समयमै निर्माण सम्पन्न गराउनुपर्ने , दैनिक बिहान दिउँसो र बेलुका अनिवार्य पानी खन्याएर धुलोमुक्त बनाइनु पर्ने माग राख्दै राखेका छन् ।
दैनिक धुलोका कारण आफूहरू समस्यामा परेको कुरा सम्बन्धित सरोकारवालाहरूलाई राख्दा पनि चासो नदेखाएपछि बाध्य भएर यसरी राजमार्ग नै अवरुद्ध बनाउनुपरेको इटहरीका व्यवसायी राकेश पोख्रेलले बताए । उनले आफूहरूको समस्यामा स्थानीय सरकार बेखबर, रोड परियोजनाको कार्यालयले बेवास्ता गरेको कारण सडकमा आउनुपरेको बताए ।
अब पनि राजमार्गलाई समयमै निर्माण सम्पन्न नगराए तथा राखिएका मागहरू प्रति गम्भीर नभए यो भन्दा कडा सङ्घर्ष गरेर देखाउने व्यवसायीहरूले चेतावनी दिँदै आएका छन् ।
व्यवसायीहरूले माग राखिरहँदा उपमहानगरले राजमार्गमा तत्काल पानी हाल्न दमकल पठाएपछि आन्दोलन स्थगित गरेका थिए । उनीहरूले दैनिक ३ पटक पानी राजमार्गमा हाले धुलोबाट थोरै भए पनि राहत मिल्ने बताउँदै आएका छन् ।
राजमार्ग अवरुद्धको सूचना पाएपछि इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीको टोलीले सडकमा तेर्साइएको ड्रम हटाएर यातायातका साधनहरू सुचारु गराएको थियो ।
यता यस विषयमा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी सँग सम्पर्क गर्दा उनले राजमार्ग निर्माण अहिले पनि भइरहेको र ब्यवसायिहरूको मार्कालाई मध्यनजर गर्दै बेला बेलामा पानी हाल्ने गरेको बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP