सत्तारुढ दलकै कारण प्रदेश सभाको बैठक स्थगित

सत्तारुढ दलकै कारण प्रदेश सभाको बैठक स्थगित

इटहरी: प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक पनि आज शुरु भएको केहीबेरमा नै स्थगित भएको छ ।

माघ ७ गते शुरु भएलगत्तै स्थगित भएको अधिवेशनको दोस्रो बैठक आज (आइतबार) दिउँसो २ बजेको लागि तोकिएको थियो । तर, सत्तारुढ दल नेकपाकै विवादका कारण २ घण्टा ढिलो गरि शुरु भएको थियो । बैठक शुरु भएपछि सत्तापक्षका सांसद एवं नेकपाका प्रमुख सचेतक बुद्धिराज भण्डारीले संसदीय दलले १६ जना सांसदलाई निलम्बन गरेकोले फुकुवा नहुञ्जेल बैठकमा उपस्थित हुन नसक्ने कुरा बताएपछि विवाद भएको थियो ।
उनले सभामुख प्रदिप भण्डारीले सभा संचालनको जनाउ दिएलगत्तै कुर्सीबाट उठेर आपत्ति जनाएका थिए । त्यसपछि उनको समर्थन जनाउँदै अन्य सांसदले पनि आफु बसेको ठाउँबाट उठेपछि सभामुखले संसद बैठक स्थगित भएको जानकारी गराएका थिए । बैठक शुरु भएको ४ मिनेटभित्रै स्थगित भएको थियो । उनले बैठक आगामी फागुन ९ गते दिउँसो २ बजेसम्मको लागि स्थगित भएको बताए । बैठक स्थगित भएपछि कार्यसुची भित्र समावेश गरिएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव टेवल नै हुन पाएन ।