एपीएफको सहज जित, गण्डकी बाहिरियो

एपीएफको सहज जित, गण्डकी बाहिरियो

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टोली एपीएफले सहज जित निकालेको छ ।

बिहीबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । एपीएफसँग पराजित भएसँगै गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा गण्डकीले जितका लागि दिएको १०६ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

एपीएफका लागि असिफ शेखले अर्धशतकीय पारी खेले । ५६ बल खेलेका उनले ५ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाए । त्यस्तै, सुमित महर्जनले १८ रन जोडे । एपीएफका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ गण्डकीका लागि चन्द्र पौड्यल र विशाल पौड्यलले समान दुई/दुई विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०६ रन बनाएको थियो । गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाउँदा विशाल पाड्य र दीपेश खत्रीले समान १५/१५ रन जोडे ।

बलिङतर्फ एपीएफका लागि कमल ऐरीले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेर तीन मेडन ओभर फालेर ११ रन खर्चे । त्यस्तै, अविनाश बोहोरा र शरद भेसवाकरले समान दुई/दुई विकेट लिए । किशोर महत्वले एक विकेट लिए ।

जितसँगै एपीएफले दुई खेलबाट ४ अंक जोडेको छ । गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ ।