भारतमा कोरोना खोप लगाएका दुई जनाको मृत्यु

भारतमा कोरोना खोप लगाएका दुई जनाको मृत्यु

काठमाण्डु : भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका दुई जनाको मृत्यु भएको छ । खोप लगाएपछि कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको हो ।

कर्नाटकमा पहिलो दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउनासाथ मृत्यु भएको र उत्तर प्रदेशको मुरादाबादमा खोप लगाएका ५२ वर्षीय व्यक्तिको भोलिपल्ट मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाएका ५ सय ८० जनामा नकारात्मक असर देखिएको छ भने सात जना अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ ।

भारतमा जारी खोप अभियानमा तीन दिनमा ३ लाख ८१ हजारभन्दा बढीलाई खोप लगाइएको छ । खोप लगाइएकामध्ये शून्य दशमलब २ प्रतिशतमा प्रतिकुल असर देखिएको हो ।

भारतले दैनिक ३ लाख मानिसमा खोप लगाउने तयारी गरे पनि तीन दिनमा जम्मा ३ लाख ८१ हजारलाई खोप दिन सकेको हो । पहिलो दिन तोकिएकोमध्ये ६४ प्रतिशतलाई खोप प्रदान गरिएको छ ।

पहिलो चरणमा त्यहाँ सरसफाइकर्मी र स्वास्थ्यकर्मीलाई खोप लगाइएको छ ।

यस्ता स्वास्थ्य समस्या भएकाले कोरोना खोप नलगाउनुः वायोटेक

त्यस्तै भारत बायोटेकले आफुले उत्पादन गरेको कोभिड–१९ विरुद्दको खोप कोभ्याक्सिन विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुले लगाउन नहुने बताएको छ ।

भारत बायोटेकले आफ्नो कम्पनीको वेवसाइडमा एक सूचना जारी गर्दै एलर्जीको समस्या भएका, रगत सम्बन्धी रोग भएका, ज्वरो आएका, रगत पातलो बनाउने औषधि सेवन गरिरहेका, इम्युनिटि बढाउने औषधि सेवन गरिरहेका व्यक्तिहरुलाई कोभ्याक्सिन नलगाउन सल्लाह दिएको छ ।

साथै, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि भ्याक्सिन लगाउन नहुने भन्दै भारत बायोटेकले सचेत बनाएको छ ।

‘कोभ्याक्सिन गम्भीर एलर्जिक रियाक्सनको कारण बन्न सक्छ। जसको कारणले सास फेर्न समस्या हुने, अनुहार, घाँटी सुन्निने, धडकन् बढ्ने, चक्कर र कमजोरी आउने र शरीरमा रातोरातो डाबर आउने जस्ता समस्या देखिन सक्छ,’ भारत वायोटेकद्वारी सूचनामा उल्लेख छ ।