काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमवार बस्ने भएको छ। पुस २७ गतेका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेसले पुस ७ बाट आन्दोलनका रणनीति बनाउन केन्द्रीय समिति शुरु गरेको हो। यस बीचमा काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र र सम्पूर्ण स्थानीय तहमा सरकारको कदमको विरोध गरिसकेको छ। माघ ८ मा वडा तहमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ।
काँग्रेसले औपचारिक रुपमा प्रतिनिधि सभा विघटनलाई असंवैधनिक भने पनि यसको पुनर्स्थापना हुनुपर्ने विषयमा जोड दिएको छैन। सभापति शेरबहादुर देउवा अदालतमा विचाराधीन मुद्दामा काँग्रेसले नबोल्ने परम्परा रहेको बताउँदै आएका छन् भने उनी इतरका नेताहरुले अदालतलाई दबाव दिनुपर्ने र प्रतिनिधि सभा पुनर्स्थापना हुनै पर्ने अडानमा रहेका छन्। आजको केन्द्रीय समितिमा पनि यही विषयमा छलफल चल्ने बताइएको छ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP