भारतमा पहिलो दिन करिब दुई लाखले लगाए कोरोनाविरुद्धको खोप

माघ ४, २०७७

न्यू दिल्ली : भारतमा कोरोनाभाइरस विरुद्धको खोप शनिबार पहिलो दिनमा नै करिब दुई लाखले लगाएका छन्। भारतले दुई वटा खोप कोविशिल्ड र कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ।

त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीले खोप लगाएको जनाएको छ। पहिलो दिन खोप लगाउन तीन हजार ३५१ शिविर चलाइएको थियो। नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का सफाइ कर्मचारी मनीष कुमारलाई पहिलो खोप दिइएको थियो।

भारतले आफ्नो खोप अभियान संसारकै सबैभन्दा ठूलो र वृहत भएको दाबी गरिरहेको छ। पहिलो दिन सबैभन्दा बढी उत्तर प्रदेशमा मात्र २१ हजारभन्दा बढीले खोप लगाए। त्यस्तै मध्यप्रदेशमा पनि १८ हजारभन्दा बढीले खोप लगाए।

सबैभन्दा प्रभावितमध्ये एक राजधानी दिल्लीमा भने ८१ जनालाई मात्र यो खोप दिइएको छ। चन्डीगढमा चार, गोआमा सात र दाद्रामा एक जनालाई खोप दिइएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले यो खोप लगाएका कोही पनि व्यक्तिलाई अस्पताल भर्ना गर्न नपर्ने दाबी गरेको छ। तर, दिल्लीमा खोप लगाउने केही व्यक्तिलाई एलर्जीको लक्षण देखिएको थियो।

विभिन्न सञ्चारमाध्यमहरुका अनुसार ती व्यक्तिलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको छ। खोप अधिकारीहरुले भनेका छन्, “खोप अभियानमा पहिलो दिन केही समस्या जरुर आएका छन्, तर ती समस्याको समाधान गरिसकिएको छ।”

भारतको केन्द्र सरकारको योजना अनुसार पहिला सफाइ कर्मचारी, चिकित्सक र नर्सलाई कोरोना खोप दिइरहेको छ। त्यसपछि अन्य व्यक्तिलाई दिइने जनाइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो चरणमा तीन करोड व्यक्तिलाई खोप लगाउने र त्यसको सबै खर्च केन्द्र सरकारले बेहोर्ने बताएका छन्। सो समूहमा संकटको वेला अग्रमोर्चामा खटिने कर्मचारी र स्वयमसेवकहरु पर्छन्।

मोदीले अघिल्ला केही महीनाभित्र ३० करोड व्यक्तिलाई खोप लगाउने घोषणा पनि गरेका छन्। दोस्रो चरणमा ६० वर्षभन्दा माथि उमेरका र ६० वर्षभन्दा कम उमेरका तर, दीर्घरोगीलाई यो खोप दिने सरकारको योजना छ।

भारतमा खोप बनाउने एक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले एक डोज खोपको मूल्य २०० भारु पर्ने जनाएको छ। यो खोप दुई डोज लगाउनुपर्छ। सरकारले आफूसँग एक करोड १० लाख डोज खोपको अडर दिएको पनि कम्पनीले जनाएको छ।

भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले सिरम इन्स्टिच्युटको कोभ्याक्सिन र बायोटेक कम्पनी इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को काविशिल्डलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ। कोभ्याक्सिन समग्र रुपमा भारतमै बनेको खोप हो।

कोविशिल्ड भने अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको खोपको भारतीय संस्करण हो। यो खोप भारतको आईसीएमआरले अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर बनाएको हो। अहिले चलिरहेको खोप अभियानमा यी दुवै खोप दिइएको छ।


थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP