१०औंपटक फ्रेन्च सुपर कपको उपाधि पीएसजीलाई

१०औंपटक फ्रेन्च सुपर कपको उपाधि पीएसजीलाई

पेरिस : फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी)ले चिरपरिचित प्रतिद्वन्द्वी मार्सेलाई पराजित गर्दै कीर्तिमानी १०औंपटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

पीएसजीले मार्सेमाथि २–१ को जित दर्ता गर्दै सिजनको पहिलो उपाधि हासिल गरेको हो । पीएसजीको जितमा अर्जेन्टिनी फरवार्ड माउरो इकार्डी र ब्राजिली नेयमारले गोल गरे । मार्सेका डिमिट्री पायटको गोलले उपाधि जित्न सकेन । खेलको ३९औं मिनेटमा गोलरक्षक स्टिभ मान्डान्डाले सुरुवाती हेडर बचाउन नसक्दा आएको रिबाउन्डमा इकार्डीले सहजै गोल गरेका थिए खेलको ८५औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

गोलरक्षक योहान पेलेले पेनाल्टी क्षेत्रभित्र इकार्डीलाई लडाएपछि पीएसजीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा एन्जल डी मारियाको स्थानमा मैदान छिरेका नेयमारले कुनै गल्ती नगरी पेनाल्टीमार्फत वर्षको पहिलो गोल गर्न सफल रहे । मार्सेले अन्तिम समयतिर गोल फर्काएपनि नतिजा बदल्न भने सकेन । डिमिट्री पायटले फ्लोरियन थाउभिनको क्रसलाई पहिलो टचमा नै गोलमा परिणत गरेपनि उक्त गोल सान्त्वनामै सीमित बन्यो ।

पीएसजीका लागि प्रशिक्षक माउरिसियो पोचेटिनोले नियुक्त भएको तेस्रो खेलमा नै उपाधि जितेका छन् । यो उनको प्रशिक्षण करिअरको पहिलो ट्रफीसमेत हो । पीएसजीले लगातार आठौं सिजन यस उपाधि जित्दा मार्से भने तेस्रोपटक फाइनलमा पराजित भएको हो । सन् १९९५ र १९९८ मा च्याम्पियन बनेको पीएसजी २०१३ देखि सुपर कपमा लगातार च्याम्पियन बनिरहेको छ ।