इनरुवामा अनेम संघ (ओली पक्ष) भेलामा ५५ सदस्यीय नयाँ कमिटी गठन

इनरुवामा अनेम संघ (ओली पक्ष) भेलामा ५५ सदस्यीय नयाँ कमिटी गठन

सुनसरी : सुनसरीको इनरुवामा आयोजित ओली पक्ष आवद्ध अखिल नेपाल महिला संघको भेलाले ५५ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । अनेम संघ इनरुवा नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई महिला नेतृका अलावा नेकपा ओली पक्षधर नेताहरुले सम्बोधन गरेका थिए । नेपाल लेखापढी कानुन व्यवसायीको भवनमा आयोजित कार्यक्रममा सहभागिको संख्यात्मक उपस्थिति बाक्लो देखिएको हो ।

नगर कमिटी अध्यक्ष इन्दिरा पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि भगवती चौधरी रहेकी थिइन् । सो कार्यक्रममा अगुवा नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अधिकांश वक्ताले प्रधानमंत्री ओलीको कदमलाई सराहनीय भनेका छन् ।

उनीहरुले प्रचण्डले नेकपा निल्न लागेपछि पार्टी र मुलुकलाई जोगाउन ओलीले बाध्यात्मक रुपमा पछिल्लो कदम चाल्नु परेको जिकिर गरे । उनीहरुले कार्यकर्तालाई नअत्ताली धैर्य गर्न आग्रह गरेका छन् । कार्यक्रममा नेताहरुले आगामी चुनावको तयारीमा लाग्न आग्रह गर्दै सुर्य चिन्ह आफुहरुकै हुने समेत ठोकुवा गरे ।

कार्यक्रममा दिइएको जानकारी अनुसार अनेम संघले जिल्लाका सबै नगरमा कमिटी विस्तारलाई अघि बढाएको छ । हरेक वडालाई समेट्ने गरी कमिटी विस्तारको क्रम अघि बढाइने अनेम संघले जनाएको छ । यसैबिच अनेम संघ ओली पक्षधर इनरुवा नगर कमिटी गठन गरिएको छ । इन्दिरा पराजुली संयोजक रहेको कमिटीको सह–संयोजकमा सरिता कार्की घिमिरे रहेकी छिन् । त्यसैगरी सचिवमा सविना सिग्देल रेग्मी र कोषाध्यक्षमा अनु आले चुनिएकी छिन् । गठित नयाँ नगर कमिटी ५५ सदस्यीय रहेको छ ।