कोशीमा चरा : गतसाल भन्दा बढी, दुइ बर्ष अगाडीको भन्दा कम

कोशीमा चरा : गतसाल भन्दा बढी, दुइ बर्ष अगाडीको भन्दा कम

इटहरी : कोशीटप्पु आसपासका क्षेत्रमा गतबर्ष भन्दा यसपटक पानीचराको संख्या बढेको छ । कोशी पक्षी समाजको नेतृत्वमा हुदै आएको पानीचरा गणनामा गतबर्ष भन्दाबढी पानीचरा देखिएको हो । मध्य हिउँदे जलपक्षी तथ्यांक संकलनपछी कोशी क्षेत्रका पानीचराको गणनाको नतिजा सार्वजनिक भएको छ । जसमा (सन् २०२१) यस पटकको गणनामा कोशी लगायतका सिमसार क्षेत्रमा ६२ प्रजातिका १९५४४ को सङ्ख्यामा पानीचरा देखिएको हो ।

६ जना चरा विज्ञ गणकको नेतृत्वमा २५ जना युवाहरूको टोलीले कोशी आसपासका पानीचराको तथ्यांक लिएको समाजका अध्यक्ष तथा पूर्वी नेपालको जलपक्षी गणना कार्यक्रम संयोजक संजीव आचार्यले बताए । ‘तथ्यांक लिने ६ दिन लाग्यो’ आचार्यले भने ‘पक्षि समाजमा रहेका स्थानीय युवाको पहलमा नतिजा आएको छ ।’ पछिल्लो नाजिताका अनुसार सन् २०२० मा १९ को तुलनामा ६५ प्रतिशत चराको सङ्ख्या घटेको थियो । जतिबेला ६१ प्रजातिका १६०१२ को सङ्ख्यामा मात्र चरा देखिएका थिए । तर गत सालको भन्दा यो पटकको २०२१ मा भने चराको प्रजाति र सङ्ख्या बढेको आचार्यले जानकारी दिए ।

No description available.
तस्बिर :संजीव आचार्य

यस पटक ६२ प्रजातिका १९५४४ चरा देखिएकोमा सबैभन्दा बढी सिलसिले हाँस (लेसर ह्विस्लिंग डक) देखिएको थियो । कुल पानीचरा मध्ये झन्डै २८ प्रतिशत अर्थात् ५३५२ को सङ्ख्यामा सिलसिले हाँस देखिएको हो । वासस्थानको दैनिक विनाश भइरहेको अवस्थाले कोशी लगायतका क्षेत्रमा चराको सङ्ख्या घट्दै गएको देखिन्छ । यो क्षेत्रमा २०१९ मा ५८ प्रजातिका २१७४४ सङ्ख्यामा चरा देखिएको थियो ।

लगत्तै २०२० मा भने कोशी आसपास चराको सङ्ख्यामा ह्वातै गिरावट आएको तथ्याङ्कले देखाएको छ । प्रेमिल जोडीको रूपमा चिनिएको चखेवा (रडी सेल्डक) को सङ्ख्या समेत बढेको छ । गत साल १४४१ देखिएको चखेवा यसबर्ष १६९७ देखिएको हो । ‘बैकालगैरी’ यसपटकको आकर्षण टाउकोको ढाँचा आकर्षक हुने काला थोप्ला सहितको गुलाबी छाती भएको बैकालगैरी हाँस (बैकाल टिल) यो पटक गणनाको आकर्षण रहेको छ । सुनसरीको बर्जू तालमा ८ वर्ष पछाडि बैकालगैरी हाँस देखिएको थियो ।

नेपालमा हाल सम्म फरक फरक ठाउँमा ५ ओटाको सङ्ख्यामा मात्र देखिएको हो । दुर्लभ रूपमा देखिने बैकालगैरी भारतीय उपमहाद्विप क्षेत्रमा समेत दुर्लभ रहेको अध्यक्ष आचार्यले जनाए । ‘कालीगण्डकीमा सन् १९८४ मा पहिलो पटक २ वटा, १९८७ मा कोशीव्यारेजमा एउटा, २००५ मा काठमाण्डौको टौदहमा एउटा देखिएको थियो’ आचार्यले भने ‘त्यसपछि २०१२ एउटा र २०२१ अहिले एउटाको सङ्ख्यामा मात्र नेपालमा देखिएको छ।’