ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा सात दिनदेखि लागेको डढेलो नियन्त्रणमा नआउँदा दुर्लभ वन्यजन्तु रेडपाण्डा (रातो हाब्रे) संकटमा परेको छ।
डढेलोले रेडपाण्डाको चरन तथा बासस्थान खरानी बनाएको छ। धेरै रेडपाण्डा मरेको हुनसक्ने भए पनि अनुगमनमा जान नसकिएको संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए।
पाथीभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान छ। ती बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे अहिले अनुमान गर्न नसकिएको राईले बताए।
पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए। डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र नष्ट गर्छ आकलन गर्न नसकिने शेर्पाले बताए।
डढेलोले पाथीभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ। हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए।
हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेको भनाइ छ। पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उनले बताए।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP