सुनसरी : सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटानमा निर्माण हुन लागेको प्रदेश नं १ कै ठूलो परियोजना रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास गरिएको छ ।
शिलान्याससँगै रु दुई अर्ब अनुमानित लागत रहेको परियोजनाको पहिलो चरणको कामको शुरुआत भएको कोशी रिफ्रेस्मेन्ट सेन्टर परियोजना कार्यालय प्रदेश १ सुनसरीका प्रशासन प्रमुख राजकुमार मेहताले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले रिफ्रेसमेन्ट सेन्टरको निर्माण प्रदेशकै लागि गौरवको विषय सावित हुने बताउनुभयो । मुख्यमन्त्री राईले कोशीको बगरलाई सदुपयोग गरी पूर्वी नाका प्रवेशका रूपमा रहेको कटान क्षेत्रलाई पर्यटकीय गन्तव्यसँग जोड्ने गरी काम थालिएको बताउनुभयो ।
परियोजनाअन्तर्गत कटान क्षेत्रमा आधुनिक बसपार्कलगायत, होटल, स्विमिङ पुल, फ्यूल सेन्टर, स्वास्थ्यचौकी, ट्राफिक र प्रहरीको बन्दोबस्तीलगायतका संरचना निर्माण गरिने आयोजना प्रमुख सुरेशप्रसाद साहले बताउनुभो । विसं २०६५ भदौ २ गतेको कोशीको बाढीले बालुवामा परिणत गरेको जग्गालाई अधिग्रहण गरी रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढाइएको हो ।
प्रदेशकै महत्वकांक्षी र ठूलो परियोजनाको रूपमा प्राथमिकतामा राखिएको परियोजनालाई प्रदेश १ सरकारले तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिएको छ । करिब २२ बिघा जग्गामा विभिन्न भौतिक संरचना निर्माण कार्य गरिने परियोजना कार्यालयका मेहताले बताउनुभयो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP