काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले बहुमत सचिवालयका नेताहरू पार्टी फुटको पक्षमा नरहेको र त्यस्ता गतिविधिहरूलाई रोक्दै आएको बताएका छन् । सोमबार गृहजिल्ला पुगेर खनालले मुलुकको प्रचलित कानुन, संविधानले पनि नेकपा विभाजन गर्न नदिने बताउँदै पार्टी फुटिहाल्छ कि भन्ने भ्रममा नरहन आग्रह गरेका छन् ।
पार्टी फुटाउने प्रयास भने भइरहेको बताउँदै उनले भने, “पार्टी कानुन, संविधानबमोजिम फुटाउन सक्नुपर्छ । संविधानले पार्टी फुटाउन दिँदैन । हामी पार्टी फुटाउने पक्षमा छैनौं । बहस छलफलबाट हामी पार्टीलाई बलियो बनाउन चाहन्छौं । बहस, छलफलबाट आत्तिनु पर्दैन,” खनाल भन्छन्, “ठूल्ठूला बहस गर्ने शास्त्रीय परम्परा हो । ऋषिमुनिहरू बहस गर्थे ।”
नेकपा आन्तरिक रूपान्तरणबाट गुज्रिइरहेको बताए । नेकपा फुटिहाल्छ कि भनेर केहीले रोटी सेकिरहेको बताउँदै त्यस्ता प्रयास पनि निरर्थक हुने खनालको भनाइ छ । “नेकपा फुटिदिन्छ कि, मैलेचाहिँ ठूलो भाग खान पाउँछु कि, मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ,” खनाल भन्छन्, “रोटी बेलिसकेको हो भने पनि सेकाउने ठाउँ पाउनुहुन्न ।”
नेकपा एकताबद्ध भएर जानेमा शङ्का नगर्ने उनले कार्यकर्तालाई अपिल पनि गरे ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP