काठमाडौं : पछिल्ला दिनहरुमा नेप्सेले धमाधम रेकर्ड कायम गर्न थालेको छ। गत साताको अन्तिम दिन पनि कारोबार र सूचक दुवैमा रेकर्ड बनाएको नेप्सेले आज (आइतबार) पनि नयाँ रेकर्ड कायम गरेको छ।
साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ७५.०२ अंकले उकालो लागेर १९६८.२७ अंकमा अडिएको छ। यो आजसम्मकै धेरै हो। त्यस्तै आइतबार कारोबारमा पनि रेकर्ड नै कायम भएको छ।
आइतबार २०० वटा कम्पनीको ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आइतबार परिसूचक र कारोबार दुवैमा नेप्सेले रेकर्ड नै कायम गरेको हो।
गत बिहीबार नेप्से १८९३.२३ अंकमा अडिएको थियो। कारोबार खुलेसँगै बढ्न थालेको नेप्से १ बजेर ५ मिनेट जाँदा ७७.५३ अंकले बढेर १९७०.७६ अंकमा पुगेको थियो। त्यसपछि घट्न थालेको बजार १९६८ अंकमा आएर रोकिएको छ।
नेप्से बढ्नुपर्ने कुनै खास कारण नभए पनि पछिल्लो समय बजार उकालो लागिरहेको छ। यसैगरी उकालो लागेमा बजार क्र्यास हुने सम्भावना भएकोले तत्कालै नियन्त्रणका उपायहरु अपनाउनुपर्ने विभिन्न बजार विश्लेषकहरुले नियामक निकायलाइ सुझाव दिइरहेका छन्।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने बजार ह्वात्तै उकालो लाग्नाका कारणहरुबारे अध्ययन गरिरहेको बताउँछ। धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी बोर्डले आफ्नो तर्फबाट अध्ययन गरिरहेको बताउँछन्।
आइतबार बैकिङ ११२.३२ अंकले उकालो लागेको छ। यसरी बैकिङ समूहको परिसूचक उकालो लागेको पनि यो पहिलो पटक नै हो। त्यस्तै विकास बैंक १७३.८४, जलविद्युत २६.६६ फाइनान्स १२.२६, अन्य ०.२५, लघुवित्त २७.७५, जीवन बीमा २४५.७५ र म्याचुअल फन्ड ०.०५ अंकले उकालो लागेको छ।
त्यस्तै उकालो लागेको समयमा पनि उत्पादनमूलक ३७.२७, निर्जीवन बीमा ४५.५५ होटल्स ७.६८ र व्यापार समूह ३५.३७ अंकले उकालो लागेको नेप्सेले जनाएको छ।
आइतबार सर्किट लाग्ने अधिकांश कम्पनीमा सबैभन्दा धेरै बैंकहरु छन्। दर्जन बढी बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इनभेष्टमेन्ट बैंक र सेन्चुरी कमर्सियल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै मितेरी डेभलपमेन्ट, माछापुच्छ्रे, सनराइज, मेगा, नेपाल बंगलादेश, कुमारी, ग्लोबल आइएमई, महालक्ष्मी विकास बैंक, सिटिजन्स, नेपाल क्रेडिट एण्ड कमर्स, सिभिल, लक्ष्मी, मुक्तिनाथ विकास बैंकको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै बढेको देखिन्छ।
आइतबार सवैभन्दा बढी गुमाउनेमा विशाल बजार कम्पनी रहेको छ। यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएको छ।
त्यस्तै यसदिन सवैभन्दा बढी कारोबार हुने कम्पनीमा कुमारी बैंक र नेपाल बैंक रहेका छन्।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP