सन्दीप लामिछानेलाई कोरोना संक्रमण

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनले स्वाब संकलन गर्दा नतिजा पोजेटिभ आएको र सामान्य लक्षण देखिएकाले सेल्फ आइसोलेसनमा बसेको बताएका छन् ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार १६ खेलाडीको पिसिआर परीक्षण गर्दा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो । तर खेलाडीमा कुनै लक्षण नदेखिएपछि डाक्टरको सल्लाहमा पुनः पिसिआर परिक्षण गरिदा शुक्रबार रोहित, ज्ञानेन्द्र र दीपेन्द्रले रिपोर्ट नेगेटिभ आएको छ । तीनै जना खेलाडी शनिबारदेखि नै बन्द प्रशिक्षणमा सामेल भएका छन् ।

नेपालले आगामी सम्भावित अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै बन्द प्रशिक्षण थालेको छ । सुरुवाती २२ र पछि पाँच थप गरी कुल २७ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । उक्त तीन खेलाडीको सम्पर्कमा आएका सन्दीप जोरा, अभिनाश बोहरा, कमल सिंह ऐरी, राशिद खान, किशोर महतो र कुशल भुर्तेललाई होटलको आइसोलेसनमा रहेका छन् ।
यी ६ खेलाडीको रिपोर्टबारे भने क्यानले कुनै जानकारी गराएको छैन ।