देशको वित्तिय अवस्था हेर्न सबैलाई आग्रह : प्रधानमन्त्री

मंसिर ११, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मनको गरिब नभएको बताएका छन्। राज्यले कसैलाई भेदभाव नगर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको वित्तिय अवस्था हेर्न पनि सबैलाई आग्रह गरेका छन्।

उद्योगी तथा व्यवसायीहरूले कोरोना महामारी भएकोले उद्योगको पुनरूत्थानका लागि कतिपय देशहरूले त्यहाँका उद्योगलाई आर्थिक सहयोग दिएको उल्लेख गर्दै नेपाल सरकारले पनि सहयोग गर्नुपर्ने बताएका थिए।

नेपाल उद्योग वाणिज्य महासंघको साधारण उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार धनको गरिब भए पनि मनको गरिब नभएको बताएका हुन्।

‘कतिवटा देशले उद्योगको पुनरुत्थानका लागि धेरै पैसा दियो, नेपाल सरकारले किन दिएन भन्ने प्रश्न उठेका छन्,’ उनले भने, ‘यो सरकार मनको गरिब होइन, वित्तिय अवस्था तपाईंहरुलाई थाहा नै छ।’

ओलीले संयुक्त प्रयासबाटै कोभिडको समस्या समाधान गर्नुपर्ने बताए। 

उनले सरकार र निजी क्षेत्र, व्यक्ति र संस्था, केन्द्र, प्रदेश, स्थानीय सरकार सबै पक्ष मिलेर संयुक्त प्रयासले कोभिडसँग जुध्न आवश्यक रहेको बताए। 

उनले सरकारको आर्थिक समस्याबारे पनि बुझ्नुपर्ने भन्दै गक्षअनुसार एक कदमअगाडि सहयोगको हात बढाएर व्यावसायिक उत्थानमा काम गर्ने बताए। 

कोभिड-१९ विरूद्ध विभिन्न भ्याक्सिन पत्ता लगाएको भन्दै ओलीले त्यसलाई व्यापारको रूपमा नभएर साझा सम्पत्तिको रूपमा प्रयोग हुनुपर्ने बताए। 

‘गरिब देशहरूले त्यो भ्याक्सिन साझा सम्पत्तिको रूपमा प्राप्त गर्ने हो कि हैन, व्यापार मात्र हुने हो कि हैन भन्ने प्रश्न आएका छन्,’ उनले भने, ‘भ्याक्सिन पत्ता लाग्नु मानव जातिका निम्ति ठूलो उपलब्धी हो। मानव जातिले साझा रूपमा प्रयोग गर्न सक्नुपर्छ।’

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP