लिभरपुल पराजित, म्यानचेस्टर सिटी नकआउट चरणमा

लिभरपुल पराजित, म्यानचेस्टर सिटी नकआउट चरणमा

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब लिभरपुल घरेलु मैदानमा पराजित भएको छ।

समूह ‘डी’ अन्तर्गतको खेलमा बुधबार राति भएको खेलमा लिभरपुललाई इटालियन क्लब एटलान्टाले २-० गोलले पराजित गर्‍यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एटलान्टाका लागि जोसिप इलिचिचले ६० मिनेट र रोबिन गोसेन्सले ६४ मिनेटमा गोल गरेका थिए। 

यो समूहको अर्को खेलमा डच क्लब अयाक्सले डेनमार्कको मिटिजल्यान्डलाई ३-१ गोलले पराजित गरेको छ। 

समूहमा शीर्ष स्थानमा रहेको लिभरपुलले ४ खेलबाट ९ अंक जोडेको छ। दोस्रो स्थानको अयाक्स र तेस्रो स्थानाको एटलान्टाले समान ७-७ अंक जोडेका छन्। मिटिजल्यान्डले भने अंक जोड्न सकेको छैन। 

यता समूह ‘सी’ को खेलमा इंग्लिस क्लब म्याचेस्टर सिटीले ग्रिसको ओलम्पियाकोसलाई १-० ले पराजित गरेसँगै अन्तिम १६ मा स्थान बनाएको छ। सिटीको जितमा फिल फोडेनले ३६ मिनेटमा गोल गरेका थिए। 

यो समूहको अर्को खेलमा एफसी पोर्टोले मार्सेलीलाई २-० गोलले पराजित गरेको छ। 

समूहमा शीर्ष स्थानको सिटीले लगातार चार खेलमा जित निकालेर १२ अंक जोडेको छ। दोस्रो स्थानको पोर्टोको ९ अंक छ भने ओलम्पियाकोसले ३ अंक जोडेको छ। पुछारको मार्सेलीले भने अंकको खाता खोल्न सकेको छैन।