१८ कात्तिक, विराटनगर । रतुवामाई नगरपालिका–१०, मोरङकी ४० वर्षीया नरमाया मगरको स्वास्थ्यमा कात्तिक ८ गते समस्या देखियो । श्रीमानले बिराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्याएर भर्ना गरे । इमर्जेन्सी हुँदै आईसीयूमा लगियो ।
स्वास्थ्यजाँच गर्दा थाहा भयो, उनको मृगौलामै समस्या देखिएको रहेछ । नरमायाका श्रीमान टेकबहादुरका अनुसार मृर्गौलामा समस्या देखिएपछि असारदेखि नियमित डाइलासिस हुँदै आएको थियो । त्यसका लागि नोबेल मेडिकल कलेजमा पालो मिलाइएको थियो । घर टाढा भएकाले श्रीमतीको उपचारका लागि टेकबहादुरले विराटनगरमै डेरा लिए ।
कात्तिक ९ गते बिहान करिब ३ बजेतिर डाइलसिस गरेपछि उनको स्वास्थ्यमा केही सुधार देखियो । तर, घाम छिप्पिन्न नपाउँदै अर्को बज्रपात आइलाग्यो, कोरोना संक्रमण ।
इमर्जेन्सीमा भर्ना भएकै बेला उनको स्वाब संकलन गरिएको थियो । रिपोर्ट नआउँदासम्म उपचार पाइरहेकी थिइन् । कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकले हेर्न मानेनन् ।
सुरुमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गरेको अस्पतालले कोरोना संक्रमण पुष्टि भएपछि दैनिक १८ हजार रुपैयाँसम्म लाग्ने र उक्त रकम अग्रिम बुझाउनुपर्ने बतायो ।
तर, टेकबहादुरहरुसँग त्यति रकम थिएन । उपचार पाइन्छ कि भनेर नेताहरुलाई फोन लगाए । तर, सरकारले नै हात उठायो भन्दै पन्छिए । नरमायाका श्रीमान टेकबहादुर मगर भन्छन्, ‘सरकारले हात उठाइसकेछ, अस्पतालले घर लैजा भन्यो ।’
उनीसामू श्रीमतीलाई घर लैजानुको विकल्प रहेन । जे होला होला भन्दै ९ कात्तिक बेलुकी श्रीमतीलाई घर लिएर गए ।
भोलिपल्ट वडादसैंको टीका थियो । बिहान श्रीमानसँग गफ गरेकी नरमायाले दिउँसो पासो लागेर आत्महत्या गरिन् ।
टेकबहादुर भन्छन्, ‘अस्पतालमै राख्न पाएको भए यस्तो हुने थिएन ।’
रतुवामाई नगरपालिका–१० का वडाध्यक्ष टंक ढकालका अनुसार मृतक महिलाको परिवार आर्थिकरुपमा विपन्न छ ।
सरकारले आर्थिकरुपमा विपन्नको निःशुल्क उपचार हुने भनेको भए पनि नरमायाले त्यो उपचार पाइनन् ।
आर्थिक अभावकै कारण उपचार नपाएर घर आएको २४ घण्टा बित्न नपाउँदै शौचालयमा पासो लागेर आत्महत्या गरिन् । ‘संक्रमितका लागि ग्वाली (गोठ)मा बस्ने व्यवस्था मिलाइएको थियो’ उनले भने ‘तर, अस्थायी रुपमा बनाएको शौचालयमा आत्महत्या गरिछन् ।’
यता नोबेल मेडिकल कलेजले कोरोना संक्रमितलाई घर नपठाएको दाबी गरेको छ । मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले पैसा तिर्न नसक्दा घर नपठाएको दाबी गरे । ‘हामीले बिरामीलाई घर पठायो भन्ने १०० प्रतिशत गलत हो’ उनले भने, ‘विपन्न परिवारको पनि उपचार भइरहेको छ ।’
स्रोत : अनलाइन खबर /हरि अधिकारी
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP