मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु

कार्तिक १७, २०७७

विराटनगर : मोरङमा कोरोना भाइरस संक्रमित तीन जना पुरुषको सोमबार बिहान मृत्यु भएको छ। दुई जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र एक जनाको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो। 

विराटनगर महानगरपालिका–६ का ८३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भयो। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार वृद्धको मृत्यु बिहान ९:४० बजेतिर भएको हो। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। 
त्यस्तै मोरङको उर्लाबारी नगरपालिका–६ का ५४ वर्षीय संक्रमित पुरुषको पनि नोबेलमै मृत्यु भएको छ। दाहालका अनुसार बिहान ९:३० बजेतिर उनको मृत्यु भएको हो। 

कात्तिक ४ गते कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको उनको भनाइ छ। मृतकमा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको दाहालले बताए। 

यसैबीच उर्लाबारी नगरपालिका–७ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ। पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमै राखिएको थियो। स्वास्थ्यमा समस्या थपिँदै गए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै पुरुषको मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले जानकारी दिए। उनका अनुसार पुरुषको बिहान ९ बजेतिर मृत्यु भएको हो। 

मृतकमा मृगौलाको पुरानै समस्या थियो। दुवै मृगौलाको डाइलासिस गर्नका लागि नोबेल शिक्षण अस्पतालमा पुर्‍याइएका उनको पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजिटिभ आएको वडा अध्यक्ष थापाले बताए। उनका अनुसार मृतकको मृगौलाको नियमित डाइलासिस हुँदै आएको थियो।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP