काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ।
शुक्रबारदेखि अभियानकै रूपमा सुरू गरी ४२९ वटा सवारी साधनमा टाँसेको महाशाखाले जनाएको छ भने शनिबार पनि उक्त अभियानलाई निरन्तरता दिइरहेको छ।
सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्य सम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।
उनले सवारी साधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने जानकारी पनि दिए।
यात्रुवाहक सवारीसाधनले प्रचलित तोकेको भन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गर्ने गरेको भन्दै काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेक गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP