युरोपमा कोरोना संक्रमण बढेसँगै फेरि लकडाउन गर्दै जर्मनी र फ्रान्स

युरोपमा कोरोना संक्रमण बढेसँगै फेरि लकडाउन गर्दै जर्मनी र फ्रान्स

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि युरोपियन राष्ट्रहरुले कयौं क्षेत्रमा फेरि प्रतिबन्ध लगाउन सुरु गरेका छन्। कोरोनाको दोस्रो वेभका कारण दैनिक हजारौं संक्रमित पहिचान भएसँगै केही राष्ट्रहरु फेरि लकडाउनको मोडालिटीमा प्रवेश गर्ने तयारीमा छन्।

फ्रान्स सरकारले नागरिकहरुलाई अत्यावश्यक काम र स्वास्थ्य सेवाका लागि मात्रै बाहिर निस्कन भनेको छ। अरु सबै गतिविधमा प्रतिबन्ध लगाइएको छ।

फ्रान्समा बुधवार संक्रमणका कारण हालसम्म कै धेरै मानिसको मृत्यु भयो। एकैदिन २४४ जनाको मृत्यु हुँदा ३६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भयो।

यस्तै, जर्मनीले पनि संक्रमणको गतिलाई मध्यनजर गर्दै ‘सफ्ट’ लकडाउन लागू गर्ने तयारी गरेको छ। फ्रान्समा जस्तो कडा नभएपनि जर्मनीमा रेष्टुराँ, बार, जिम र थिएटर संचालनमा प्रतिबन्ध लगाइएको छ। १० जनाभन्दा बढी व्यक्ति एकै स्थानमा बस्न पाइने छैन।  बिहीबार भने जर्मनीमा १६ हजार भन्दा बढीमा संक्रमण पुष्टि हुँदा ८९ जनाको मृत्यु भयो।

फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले लकडाउन गरिएपनि उद्योग र सार्वजनिक संस्था भने खुल्ला नै रहने बताएका छन्। उनले भाइरसको दोस्रो वेभ पहिलाभन्दा खतरनाक हुन सक्ने भन्दै सबैलाई घरभित्रै रहेर सहयोग गर्न आग्रह गरेका छन्।

यता जर्मनीकी चान्सलर एन्जेला मार्केलले कोरोना भाइरससंग लड्न राष्ट्रस्तरमा नै प्रयासहरु हुनु पर्नेमा जोड दिएकी छिन्। उनले हालको संक्रमणको गतिमा स्वास्थ्य सेवाहरु संचालन हुन सक्ने भएपनि संक्रमितहरु बढ्दै गए सेवा दिन गाह्रो पर्ने समेत बताएकी छिन्। जर्मनीमा खुकुलो लकडाउन नोभेम्बर २ देखि सुरु हुनेछ। 

यस्तै, युरोपका अन्य राष्ट्रहरुले संक्रमणलाई रोक्न लकडाउन नै नगर्ने भएपनि प्रतिबन्धहरु भने लगाएका छन्। कोरोनाको युरोपियन इपिसेन्टर इटालीमा संक्रमण बढ्दैछ। जसकारण रेष्टुराँ,बार, थिएटर, स्वीमिङ पुल संचालनमा रोक लगाइएको छ। रात्रिकालिन कर्फ्यू समेत बढाइएको छ।

स्पेनले पनि राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागू गरेको छ। साथै कयौं क्षेत्र संचालनमा प्रतिबन्ध लगाएको छ।