बारामा प्रहरी र स्थानीयबीच झडप, गोली लागेर बालक घाइते

कार्तिक १३, २०७७

बारा : जिल्लाको सीमावर्ती सुवर्ण गाउँपालिका-२ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालय अगाडि बुधबार प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालक गम्भीर घाइते भएका छन् । 

राति साढे ८ बजेतिर भारतबाट ल्याइँदै गरिएको आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खाोज्दा भएको झडपमा गोली लागेर सुवर्ण गाउँपालिका -२ कै १४ वर्षीय रन्जनकुमार यादव घाइते भएका हुन् । उनको टाउकोमा गोली लागेको छ ।

बालकको स्थानीय एसआर अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि वीरगन्जको बयोधा अस्पताल रिफर गरिएको अस्पतालका चिकित्सक जितेन्द्र यादवले बताए ।

झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी हवाई फायर गरेको थियो ।

घाइतेको साथमा रहेका स्थानीय रामनिवास यादवले बयोधा अस्पतालमा घाइतेको सिटी स्क्यान भएको र गोली टाउकोको बाँयापट्टिको भागमा भित्रै रहेको बताए । साँझ ६ बजे आधा दर्जन बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयाबाट प्रहरीको गाडी मगाएर जिल्ला लान खोज्दा झडप भएको थियो ।

प्रहरीले घटनाबारे बोल्न चाहेको छैन ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP