कर्णाली नेकपा विवाद : शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

कार्तिक ७, २०७७

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको बैठक सम्पन्न भएको छ । बैठकले मुख्यमन्त्री तथा दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय गरेको छ । 

शुक्रबार मुख्यमन्त्री पक्षका बहुमत सांसदहरुको बैठकले यो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए । यो बैठकमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरू सहभागी भएनन् । प्रस्ताव दर्ताका लागि हस्ताक्षर गरेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले साथ दिएपछि मुख्यमन्त्रीको पक्षमा बहुमत जुटेको हो ।

नेकपाका १८ जना सांसदहरूले मुख्यमन्त्रीविरुद्ध असोज २५ गते अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेका थिए । मुख्यमन्त्री शाहीले त्यसलगत्तै प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरेर सीता नेपालीलाई नियुक्त गरेका थिए ।

नवनियुक्त प्रमुख सचेतक नेपालीको अध्यक्षतामा बसेको शुक्रबारको बैठकमा १८ जना सांसद सहभागी थिए । प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । दलको नेता हटाउन वा कायम राख्न कम्तिमा १७ जना सांसद आवश्यक पर्दछ

मुख्यमन्त्रीलाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गुलावजंग शाहलाई नै प्रमुख सचेतकमा कायम राख्न निर्देशन दिएका थिए । तर, मुख्यमन्त्री शाहीले त्यसलाई वेवास्ता गर्दै दलको बैठक अगाडि बढाएका हुन् । 

यसले कर्णालीमा नेकपाभित्रको विवाद थप चर्किने अवस्थामा पुगेको छ । आफूविरुद्धको अविश्वासको प्रस्ताव असफल बनाएका मुख्यमन्त्री शाहीले अब मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षबीच समिकरण बनेसँगै कर्णालीमा प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्ष कमजोर बनेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP