सुनसरी : मनीष पाण्डे र विजय शंकरको नटआउट शतकीय साझेदारीमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिगमा बिहीबार राजस्थान रोयल्सलाई ८ विकेटले हरायो । यो जितपछि हैदराबादको ८ अंक भएको छ र प्ले अफ खेल्ने सम्भावना जीवन्त राख्दै पाँचौं स्थानमा उक्लेको छ ।
राजस्थान भने ८ अंकसहित सातौं स्थानमा कायम रह्यो । जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्याइरहेको हैदराबादले १८.१ ओभरमा दुई विकेट गुमाएर १ सय ५६ रन बनायो । मनीषले ४७ बलमा ८३ तथा विजयले ५१ बलमा ५२ रन बनाए । उनीहरूले तेस्रो विकेटका लागि १ सय ४० रनको निर्णायक साझेदारी गरे ।
यसअघि राजस्थानले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो र यसक्रममा २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । त्यसमा सन्जु सामसनले बनाएको ३६ रननै सर्वाधिक ठूलो रह्यो । राजस्थानका ब्याट्सम्यानले सुरुआत त लिए, तर कसैले पनि ठूलो स्कोर खडा गर्न सकेनन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP